दफा २६
घर जग्गामा प्रवेश गर्न सक्ने
(१) अनुमतिपत्र प्राप्त संस्था वा यस ऐन बमोजिमको कामको सिलसिलामा खटिएको कुनै कर्मचारीले कुनै व्यक्तिको घर जग्गामा प्रवेश गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिलाई पूर्वसूचना दिई त्यस्तो घरजग्गामा प्रवेश गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले सेवाको दुरुपयोग वा सेवाको अनाधिकार उपयोग गरिरहेको छ भन्ने शङ्का गर्नु पर्ने पर्याप्त आधार र कारण भएमा प्रचलित कानूनको प्रक्रिया पुरा गरी सूर्योदयदेखि सूर्यास्त नभएसम्मको समयमा पूर्वसूचना नदिई अनुमतिपत्र प्राप्त संस्थाबाट अधिकारप्राप्त कर्मचारी त्यस्तो व्यक्तिको घरजग्गामा प्रवेश गर्न सक्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम (घरजग्गामा प्रवेश गर्ने कर्मचारीले सम्बन्धित घरजग्गाधनीको कुनै सम्पत्तिमा हानि नोक्सानी पुग्ने कार्य गर्नु हुदैन।

(४) उपदफा (१) र (२) बमोजिम घरजग्गामा प्रवेश गर्ने कर्मचारीले घरजग्गाधनीको कुनै सम्पत्तिमा हानि नोक्सानी गरेको पाइएमा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले त्यस्तो घरजग्गाधनीलाई तोकिए बमोजिम क्षतिपूर्ति दिनु पर्नेछ।